"कविता संसार"मा यहाँहरु सबैलाई हार्दिक स्वागत छ . . Please Log on: www.kabitasansara.blogspot.com

Friday 17 May 2013

Keshar Thulung- माटो, अब माटो रहेन

सदियौँदेखि
यसको पिठ्यूँमा बूई चढ्दै आयौँ
यसको लाम्टा चुस्यौँ, थुत्यौँ
भएन, कोतर्‍यौँ, खोतल्यौं, कोपर्‍यौँ
र अन्त्यहिन, वेभिचारी
होली खेल्यौँ यसैसँग
र त माटो, अब माटो रहेन
यो जङबहादुर बनेको छ
यो भस्मकारी बनेको छ


फूलाएर कान्ला-कान्लामा
रोमाञ्चित फूलहरुगह्रा-गह्रामा
लहलहाउँदा बालीनालीहरु
सदैव प्रतिक्षामा रहन्थिन
हाम्रो स्वागतको
सदैव कामना गर्थिन
हाम्रो लामो आयूको

तर, अलिकति पनि अनुभूत गरिनौँ
हामीप्रतिको वफादारितालाई
बरु उल्टै अस्मिता लुट्यौं, बेचियौँ
बरु उल्टै भत्कायौँ, दोक्चायौँ
र त माटो, अब माटो रहेन
यो हाम्रो गाँस-गाँसमा विष बनेको छ
यो हाम्रो बाटोमा पासो बनेको छ


एउटा सुन्दर राष्ट्र
निर्माण गर्ने अपेक्षामा
या आफूलाई बनाउने चाहानामा
कैयौँपटक माटोलाई निशाना बनायौँ
कैयौँपटक माटोलाई अतिक्रमण गर्‍यौँ
अह्मतावादमा धेरैलाई छप्कायौँ
अझ यसो भनुँ
वि स १९०३ को कोतपर्वदेखि
रगताम्य बनाउन तम्सेको हामी
वि स २०६२ ०६३ को
जनआन्दोलन २ सम्म आइपुग्दा पनि
रगताम्यै बनाइरह्यौँ
र त माटो, अब माटो रहेन
यो अणु वम बनेको छ
यो क्षेप्यास्त्र बनेको छ


माटो
सबैको लागि एक हुनुपर्ने हो
उत्तिकै सम्मान अधिकार हुनुपर्ने हो
फेरि यतिबेला
शासकीय र सङ्घियता
दुई पक्षमा विवादास्पद बनिरहेको छ
दुई पक्षबीच दुवान्द चलिरहेको छ
खोसामारी, हानथाप, भइरहेको छ
र त माटो, अब माटो रहेन
यो खतरनाक भल्क्यानो बनेको छ
यो खतरनाक टाइफन बनेको छ ।
 


www.kesharthulung.blogspot.com

No comments:

Post a Comment